हेटौँडा/ नवरात्रको आठौं दिन आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।
महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
शक्तिपीठहरूमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबलि दिने प्रचलन रहेको छ । पशु बलि नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बलि दिने गर्छन ।






















