हेटौंडाको मानवसेवा आश्रमद्वारा दुइ भारतियलाई परिवारको जिम्मा, परिवारले किराया गरिसकेको खुलासा

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १३:३४

हेटौँडा/ हेटौंडाको मानवसेवा आश्रमले दुईजना भारतीय नागरिकको पारिवारिक पुनर्मिलन गराएको छ ।

मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर, हेटौंडामा आश्रय लिइरहनुभएका दुई जनाको पारिवारिक पुनर्मिलन भएको आश्रमले जनाएको छ ।

भारतको मिरजापुर जिल्ला, बनारस घर भएकी २०७३ सालमा हेटौंडा बसपार्कमा भेटिएकी सुकलाको अवस्था अत्यन्तै हृदय विदारक थियो । फोहोरले घेरिएकी उनी सामान्य हिड्डुल गर्न समेत धौ धौ पर्ने अवस्थामा थिइन् ।

आश्रममा आएपछिको सुधार कति जनाको लागि कल्पना बाहिरको कुरा हो । त्यस प्रकारको जीवन पनि परिवर्तन हुन सक्दो रहेछ । घरमा छोरीको विवाहको तयारी भइरहेको समयमा विहेकै दिन सुकला घरबाट निस्केको उनका छोरा रिसीमुनी सिंह बताउँछन् । कारण श्रीमान्को मृत्यु पछिको एकल जीवन ।

श्रीमान्को मृत्युपछि मानसिक रुपमा कमजोर बनेकी सुकला त्यसपछि कसरी नेपाल आइन्, यो कुरा अदृश्य नै छ । न सुकला बताउन सक्छिन्, न उनका परिवार, न त आश्रमलाई नै थाहा छ ।

६ बर्षसम्म बुहारीको अवस्था थाहा नभएपछि उनका परिवारले क्रिया गरिसकेका रहेछन् । तर क्रिया पछि पनि अरु सबैले आशा मार्दा उनको १०० बर्षको सासु भने बुहारी फर्किने आशामा कुरेर बसेकी रहेछिन् । त्यहाँ पुग्दा उनका आखाले समेत खुसी थाम्न सकेनन् र चुहिन थाले खुसीका आँशु ।

उनलाई परिवारका २ छोराले जिम्मा लिएका छन् । थप ४ जना छोरीहरु समेत रहेछन् । ४ वर्षपछि भेटियो मुन्नाको परिवार, आमालाई भेट्ने छोराको चाहना अधुरै त्यस्तै भारतको विहार राज्यको सितामारी जिल्लाको पुपरी भन्ने ठाउँमा घर भएका मुन्ना मानव ४ बर्षपछि घर फर्किएका छन् । रोजगारीको लागि मुम्बई हिडेका मुन्ना यात्राकै क्रममा एक जना मानिसको जालमा फसेको स्वीकार गर्छन् ।

मुम्बई हिडेका उनलाई रोजगारी लगाइदिने भन्दै एकजना मानिसले विश्वास जित्छन् । त्यही मानिसले उनलाई झुक्याएर नेपाल ल्याउँछन् । नेपालमा आएपछि उनीसँग भएको सम्पूर्ण रकम अनि सामग्री चोरी गरी बेवारिसे बनाउँछन् ।नेपाली भाषा बुझ्दैनन् । खाना, नाना र छानाको अभावमा मुन्ना मानसिक रोगबाट पीडित बने । त्यसपछि सडकमा मागेर बस्न थाले । उनको अवस्था बिग्रिदै गयो । अनन्त हराएको करिब १ बर्षमा उनी मानवसेवा आश्रमको संरक्षणमा आइपुगे । हेटौंडा बसपार्कबाट २०७५ साल कात्तिक महिनामा उद्धार गरिएको उनलाई चिकित्सकसँगको निरन्तर परामर्शमा औषधी ख्याएपछि उनमा विस्तारै परिवर्तन आयो । आवश्यक परामर्श पछि उनले आफ्नो परिचय सहित ठेगाना समेत बताउन थाले ।

उनले बताएको ठेगाना सत्य भएको यकिन भएपछि पारिवारिक पुनर्मिलनको तयारी गरियो । वीरगञ्जबाट गाडीको १० घण्टाको यात्रा पछि उनले बताएको पुपरा ठाउँमा पुगियो । त्यहाँ पुग्दाको अवस्था अत्यन्तै कारुणिक रह्यो । धेरै ठाउँमा खोजी गर्दा नभेटिएका मुन्नाको परिवारले क्रिया गरिसकेको रहेछ । मुन्नाले आश्रममा रहँदा आमालाई भेट्ने ठुलो इच्छा गरेका थिए तर घर पुग्दा अवस्था फरक देखियो । छोरालाई कुरेर बसेकी आमाको समेत १ बर्ष अगाडी मृत्यु भइसकेको रहेछ ।

उता श्रीमान्को क्रिया गरिसकेपछि श्रीमती समेत माइतीमा बस्दै आएकी रहेछन् । मुन्नालाई दाई मोहममद अग्रवाल र भाउजु समति खातुनले जिम्मा लिएका छन् । त्यस्तै आश्रमले सुकला मानव नाम राखिदिएकी सियुकुमारी सिंहको पनि पारिवारिक पुनर्मिलन भएको छ । करिब ५ बर्षको आश्रम बसाइपछि उनी घर फर्किएकी हुन् ।

मानवसेवा आश्रमको संरक्षणमा रहेका यि दुई भारतीय नागरिकलाई पुनर्मिलन गराउन मानवसेवा आश्रमका अभिभावक एवं हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला चौलागाईंज्यू सहित आश्रमका अभियन्ता होमनाथ पौडेल र शाश्वत मानवसेवा गएका थिए ।

मानवसेवा आश्रमले यसै गरि नेपालमा हराएका नेपाली व्यक्तिहरुसँगै भारतीय, बङ्गलादेशी, चिनीया, पाकिस्तानी नागरिकहरुको पारिवारिक पुनर्मिलन गरिसकेको छ । साथै केही दिनमा थप ५ जना भारतीय नागरिकको पारिवारिक पुनर्मिलनको तयारी गरिरहेको आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी गराए । सात प्रदेशका १७ जिल्लामा अवस्थित मानवसेवा आश्रमले २२ सेवा केन्द्रहरु मार्फत ७७ जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*