भुवन केसी र शिव श्रेष्ठको फिल्म हेर्ने दर्शकको खडेरी

हेटौडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १४:२२

हेटौँडा/ दसैं फिल्म रिलिजको लागि उर्बर समय मानिन्छ । तर, गत वर्ष कोरोनाका कारण हल बन्द रहे । यस वर्षको दसैंमा भने दुई फिल्म एकसाथ रिलिज भए ।

फूलपातीको दिनमा ‘डाँडाको वरपिपल’ र ‘धन्दागिरी’ नामक फिल्म हलमा लागे । धन्दागिरीले राम्रो हलमा शो नै पाएन भने डाडाँको वरपिपलले मल्टिप्लेक्स हलमा पनि शो पाएको थियो ।

धन्दागिरी फिल्म आएको(गएको दर्शकले नै पत्तो पाएनन् । यता डाँडाको वरपिपल रिलिज भएको प्रचार(प्रसार राम्रै गरियो । तर, हलमा दर्शकको उपस्थिति शून्य जस्तै छ । फिल्मले ५ प्रतिशत पनि अकुपेन्सी बनाउन नसकेको हलवालाको भनाइ छ ।

क्युएफएक्समा सीईओ रोशन अडिगा फिल्ममा दर्शकको उपस्थिति एकदमै न्यून रहेको स्वीकार्छन् । उनले भने, ‘दसैंमा जुनसुकै फिल्मले पनि राम्रो दर्शक पाउँथे । तर, यसवर्ष भने दर्शकको उपस्थिति शून्य जस्तै छ । सायद, महामारीको डर अझै बाकीं भएर हो कि ।’

त्यस्तै, बानेश्वरमा रहेको वान सिनेमाजमा पनि फिल्म हेर्न आउने दर्शकको खडेरी नै लागेको छ । हलका व्यवस्थापक उमेशराज गिरीका अनुसार हलिउड फिल्ममा केही दर्शक देखिए पनि नेपाली फिल्म हेर्ने दर्शक शून्य जस्तै छ ।

सिंगल थिएटरमा राम्रो पैसा उठाउने हल हो, अष्ट नारायण । तर, यहीँ हलमा पनि फिल्मले ५ प्रतिशत अकुपेन्सी बनाउन सकेको छैन ।

हल संचालक सोहित मानन्धर फिल्म नचल्नुको कारण निर्देशक सोभित बस्नेत नै रहेको बताउँछन् । उनले भने, ‘सोभित बस्नेतका फिल्महरु खासै चलेका पनि हुँदैनन् । यो पनि चलेन ।’

सोहित महानायक विवादले पनि यस फिल्मलाई ‘ब्याक फायर’ गरेको तर्क गर्छन् । ‘फिल्म रिलिजको समयमा सोभितजीले महानायकको विवाद मच्चाइदिनुभयो त्यसले पनि फिल्मलाई असर गर्‍यो‘, सोहितले भने ।

‘डाडाँको वरपिपल’ मल्टिस्टारर फिल्म हो । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा जस्ता कलाकारको अभिनय रहेको छ । यस फिल्मले लामो समयदेखि ठप्प रहेको फिल्म क्षेत्रलाई चलायमान गराउने धेरैको आशा थियो । तर, स्टार कलाकार अभिनित फिल्मले दर्शक पाउनै मुश्किल परेको छ ।

महामारीको डर नसकिनु, प्रतिक्षित फिल्म हलमा रिलिज नहुनु । हलसम्म दर्शक नआउनुको मुख्य दुई कारण यिनै हुन् । तर, महानायक विवादका कारण फिल्मका प्रचार सामाग्रीमा दर्शकले ‘डिसलाइक’को ट्रेण्ड चलाएका थिए । फिल्मलाई बहिष्कार गर्ने सम्म दर्शकले प्रतिकृया दिएका छन् । त्यसको प्रभाव पनि फिल्मलाई परेको हुनसक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*