
हेटौँडा/ आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ ।
दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् । हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।
नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् । कोरोना भाइरसको महामारीको अहिलेको अवस्थामा साबुनपानीले हात धुनु अझ धेरै सान्दर्भिक देखिएको छ ।
विश्वभर झण्डै ४० प्रतिशत मानिसमा हात धुने आधारभूत सुविधाबाट समेत वञ्चित रहेको अध्ययनहरुले देखाएका छन् । साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुबाट लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरुले देखाएको छ ।
