हेटौँडा/ भारतको उडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण केही दिन देशभर नै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ। उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिः देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।