मकवानपुरमा वर्षाका कारण धानबालीमा भएको क्षतिको अनुगमन

हेटौडा टुडे
३ कार्तिक २०७८, बुधबार १२:४३

हेटौँडा/ मकवानपुर जिल्लामा तीन दिन देखिको अविरल वर्षाका कारण धानबालिमा भएको क्षतिको समस्या बुझ्नका लागि आज अनुगमन गरिएको छ ।

बागती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेको नेतृत्वमा धानबालीमा भएको क्षतिको अनुगमन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पीप्ले, वडा नम्बर–६ चौघडा, चुच्चेखोला, वडा नम्बर–१७ राजदेवि, वडा नम्बर–१६ हटिया लगायतका क्षेत्रका खेतमा किसानले लगाएको धानबालिमा भएको क्षतिका बारेमा बुझ्नका लागि अनुगमन गरिएको सचिब पाण्डेले वताउनुभयो ।

दशैको टिकाको भोलिपल्ट अर्थात असोज ३० गते किसानले खेतमा काटेको धान फिजाएर सुकाउने क्रममा मकवानपुरमा धानबालिमा क्षति भएको पाइएको उहाँले वताउनुभयो । त्यसभन्दा पछी लगातार पानी परेकाले किसानले खेतमा धान काटेका छैनन् । वर्षाका कारण मकवानपुरमा थोरै मात्र धानबालिमा नोक्सानी पुगेको उहाँले वताउनुभयो ।

अनुगमनका क्रममा विउविजन प्रयोगशाला हेटौंडाका बालिविकास अधिकृत कुलप्रसाद दवाडी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी लगायतकाको सहभागिता रहेको थियो । क्षतिको विवरण संकलन गरिसकेपछी किसानलाईं राहत रकम पनि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

खेतमा काटेर सुकाएको नौ कठ्ठा क्षेत्रफलको धानमा दिनहुँको वर्षाका कारण समस्या बेहोर्नुपरेको हेटौंडा चुच्चेखोलाका किसान प्रेमप्रसाद चौलागाईं वताउनुहुन्छ । धान भिजेपछी चिन्तित बन्नु भएका चौलागाईंले प्रदेश सरकारले धानमा भएको क्षतिको विवरण बुझाउने र त्यस अनुसार राहत उपलब्ध गराउनका लागि सचिब समक्ष आग्रह गर्नुभयो ।

अरुको खेत कमाएर धान लगाएको तर, वर्षाले त्यही धानमा पनि क्षति पुगेको उहाँले वताउनुभयो । पहिलेको वर्ष २२ मुरी धान भित्रयाए पनि अव यो वर्ष धान भित्रयाउनका लागि समस्या हुने र खान समेत खरिद गरेर खानुपर्ने बाध्यता हुन सक्ने उहाँले वताउनुभयो ।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियाका किसान चतुरभुज तिमल्सीनाले आफ्नो पाँच कठ्ठा जमिनमा लगाएको धानबालीमा पानीले क्षति पुगेको वताउनुभयो । असोज ३० गते काटेको धान पानी परीरहेकाले चुट्नका लागि पनि समस्या भएको वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*