मकवानपुरका ४२ हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै

हेटौडा टुडे
५ कार्तिक २०७८, शुक्रबार १४:५७

हेटौँडा/ मकवानपुरमा यही कार्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । प्रत्येक वर्ष २ र ३ गते खुवाइने गरेकोमा यस वर्ष भने त्यस अवधिमा दशैंको अवधि परेकाले सरकारले ७ र ८ गते भिटामिन ए र जुकाको औषधी खुवाउने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार मकवानपुर जिल्लाका ४ सय ६४ जना स्वास्थ्य स्वयम्सेविकामार्फत् बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र ९२ जना स्वास्थ्य स्वयम्सेविकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन परिचालन गरिने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाभर ४१ हजार ९ सय १८ जना बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य लिएको र ३७ हजार २ सय ७ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको उपाध्यायले बताउनुभयो । ७ गतेबाट भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गर्ने र ७ गते छुटेकालाई ८ गते खुवाइने उहाँले बताउनुभयो । ती दुबै दिन खुवाउन छुटेकाले पनि स्वास्थ्य स्वयम्सेविकालाई खबर गरे घरमै पुगेर पनि खुवाइने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*