हेटौँडा/ गत शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई गृहजिल्लामा सम्मानको कार्यक्रमहरु सुरु भएको छ । नेपाली फुटबल स्ट्राइकर अन्जन विष्टलाई विभिन्न संघसंस्था तथा राजनीतिक दलले सम्मान गरेको हो ।
मकवानपुरे खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै खेलेको भनेर अन्जनले सम्मान पाइरहँदा नेपाली राष्ट्रिय टिममा रहेका मकवानपुरकै अर्का खेलाडी सुनिल बललाई भने बेवास्ता गरिएको छ । शुक्रबार सचेत नागरिक युवा समूह तथा सामुदायिक सेवा उपकेन्द्र र शनिबार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले अन्जनलाई नगदसहित सम्मान गरेको थियो । तर साफ च्याम्पियनसिपको फाइनल खेलमा मैदान प्रवेश गरेका सुनिल बलको सम्मान कार्यक्रममा नामसमेत नलिइएपछि भेदभाव भएको भन्दै आलोचना सुरु भएको छ । अन्जनलाई विभिन्न संस्थाले सम्मान गरेको समाचार आएपछि मकवानपुरका फुटबलप्रेमीहरुले सुनिल बललाई छुटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी सुनिल बलले शुक्रबार साँझ हुने सम्मान कार्यक्रमको लागि कार्यक्रम हुनुभन्दा १ घण्टा अगाडि फोन आएको र आफू काठमाडौं रहेको जानकारी दिएपछि अरु सम्मानका कार्यक्रमहरुका विषयमा कुनै जानकारी नभएको बताउनुभएको छ । ‘सबै खेलाडीले देशका लागि खेलेको हो । कसैले धेरै खेल्ने मौका पाउला, कसैले थोरै तर भेदभाव हुन नहुने हो । अब उहाँहरुको कुरा हो । मलाई अरु केही भन्नु छैन’, उहाँले भन्नुभयो । दशैंमा आफू घर आउन नपाएका कारण काठमाडौंमै प्रशिक्षण गरिरहेको र तिहारमा मात्र आउने योजना रहेको उहाँले बताउनुभयो ।
अन्जन विष्टका बुवा राजु विष्ट नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका कारण शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले गरेको सम्मान कार्यक्रमलाई राजनीतिक पार्टीगतरुपमा सम्मान गरिएको आरोपसमेत लागेको छ । यसै विषयमा नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सभापति सविन भट्टाचार्यले खेलाडी सम्मान कार्यक्रम कुनै पूर्वाग्रह राखेर नगरिएको बताउनुभएको छ । अन्जन विष्ट दशैंमा हेटौंडा आएको बेलामा खेलाडी सम्मान कार्यक्रम तुरुन्तै बनेको र सुनिल बल काठमाडौं रहेको भन्ने जानकारी आएकाले अन्जनलाई सम्मान गरिएको उहाँले बताउनुभयो । सुनिल बल तिहारमा हेटौंडा आउने भन्ने कुरा जानकारीमा आएकाले उनी हेटौंडा आएपछि पुनः सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा भेदभाव भयो भनेर भन्नेहरुले बास्तविकता नबुझी अनावश्यक तर्क व्यक्त गरेको उहाँको भनाई थियो । अनावश्यक तर्क गरेर बस्नेहरुले खेलाडीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरु गर्न पनि सक्नुपर्ने बताउनुभयो । साथै उहाँले सम्मान कार्यक्रममा सुनिल बल काठमाडौं रहेकाले अहिले सम्मान गर्न नसकिएको भनेर जानकारी गराइएको दाबी गर्नुभयो । तर, कार्यक्रममा उपस्थित पत्रकारमात्र नभई नेपाली कांग्रेसकै एक क्रियाशील सदस्यले कार्यक्रममा सुनिल बलको नाम समेत नलिइएको बताए ।