एमालेको पालिका अधिवेशन आज,मकवानपुरमा भने १३ गते हुने

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार ०९:०८

हेटौँडा/ नेकपा एमालेको आज मंगलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन हुँदै छ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ ।

अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ ।

पार्टीको नयाँ विधानबमोजिम गाउँ-नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

मकवानपुरमा पालिका अधिवेशन १३ गते

मकवानवपुरमा भने एमालेको पालिका अधिवेशन यहि १३ गते शनिबार हुने भएको छ ।

नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ अनुसार प्राविधिक कारणले आज अधिवेशन हुन नसकेको हो । उनका अनुसार जिल्लाको अधिकाशं वडामा गएको कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसेको छ ।

सचिव श्रेष्ठले जिल्लामा पालिकास्तर अधिवेशन कात्तिक १३ गते गर्ने तयारी रहेको बताए ।

आज हेटौंडामा उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम रहेकोले जिल्लाको अधिकाशं पालिकाका सदस्यहरु संघको निर्वाचन प्रक्रियामा भाग लिन हेटौंडा आउनु पर्ने हुँदा अधिवेशनलाई १३ गते लाई राखिएको सचिव श्रेष्ठले बताए ।

मकवानपुरमा एक उपमहानगरपालिका,एक नगरपालिका र ८ गाउँपालिका सहित १० पालिका रहेका छन् । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*