हेटौँडा/ मागभन्दा बढी उत्पादन घई जलविद्युत् खेर जान थालेपछि सरकारले खपत बढाउन घरायसी र विद्युतीय सवारी साधनमा उपभोग हुने बिजुलीको महसुल दर घटाउने भएको छ । यति बेला दैनिक झन्डै चार सय मेगावाट बिजुली खपत हुन नसकेर खेर गइरहेको छ ।
मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने सरकारको तयारी छ । नयाँ महसुल दर विद्युत् महसुल निर्धारण आयोगले स्वीकृत गरिसकेको छ । आज पत्रकार सम्मेलन गरेर नयाँ दर सार्वजनिक गर्ने तयारी छ ।
मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जानकारी दिएकी छन् । उनले भनिन्, ‘मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदैछौं । यो महसुलले साना तथा ठूला विद्युतीय सवारीसाधन चलाउनदेखि घरायसी खपतका लागि बिजुली सस्तो बनाएको छ ।’ उनले साझा यातायातमार्फत ठूला विद्युतीय सवारीसाधन सञ्चालन गर्ने सरकारको तयारी रहेको पनि बताइन् ।
मन्त्री भुसालले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा बिजुलीको खपत बढाउने गरी प्राथमिकतासहित काम गरेको बताइन् । भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारीसाधन, सिँचाइमा सहुलीयतपूणर् दरको बिजुली, उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उनले दाबी गरिन् ।