लगानीकर्ता प्रोफिट बुकिङमा लाग्दा सेयर बजारमा करेक्सन

हेटौंडा टुडे
१५ कार्तिक २०७८, सोमबार १५:४६

हेटौँडा/ अल्पकालीन लगानीकर्ता प्रोफिट बुकिङमा लाग्दा सेयर बजार सोमबार ओरालो लागेको छ । यसअघि बजार १० कारोबार दिनमा ३०० भन्दा बढी विन्दुले बढेको थियो भने पछिल्लो ६ दिन बिना करेक्सन नेप्से उकालो लागेको थियो । यस बीचमा सस्तामा सेयर खरिद गरेका लगानीकर्ताले सोमबार प्रोफिट बुकिङका लागि बिक्री चाप बढाएका छन् । जसका कारण नेप्से १७.७५ विन्दुले ओरालो लाग्यो ।

आज नेप्से ०.६३ प्रतिशतले ओरालो लागेर २८१९.८७ मा आइपुग्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ प्रतिशतले घटेर ५२८.५८ मा आइपुगेको छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये तीनवटाको सूचक हरियो छ भने बाँकीको सूचकमा रातो पोतिएको छ । बैंक, होटल्स र लगानी समूह झिनो विन्दुले हरियो हुँदा सबैभन्दा बढी ओरालो लाग्नेमा जलविद्युत् समूह छ । यो समूह २ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा केही कम देखिएको छ । सोमबार ८० हजार ३५१ कारोबारबाट एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता सेयर सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा खरिद बिक्री भएका छन् । आइतबार ८१ हजार ९३५ कारोबारबाट १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर सात अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँमा खरिदबिक्री भएका थिए ।

सोमबार कारोबार भएका २२६ वटा स्क्रिप्टमध्ये १६० वटाको भाउ खस्किएको छ भने ५९ वटाको बढेको छ । त्यस्तै सातवटाको क्लोजिङ मूल्य स्थिर रह्यो । यस दिन मानुषी लघुवित्त, साहस ऊर्जा र पाँचथर पावरको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा कामना सेवा विकास बैंकका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर भाउ ६ प्रतिशतभन्दा बढीले खस्किएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*