आजबाट छठ पर्व सुरु

हेटौंडा टुडे
२२ कार्तिक २०७८, सोमबार ०८:४२

हेटौँडा/ तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ ।अहिले काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरुमा समेत छठ मनाउन थालिएको छ ।

परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको छ ।

मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।

आज कात्तिक शुक्ल चौथीको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार भएको छ ।

छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजा सामग्री तयार पारिने भएकाले यो सबैको पर्व हुन गएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*