बागमती प्रदेशमा ४० र मकवानपुरमा ५१ प्रतिशत सुत्केरी घरमै

हेटौंडा टुडे
२२ कार्तिक २०७८, सोमबार १४:३७

हेटौँडा/ वाग्मती प्रदेशमा धेरै महिला अझै असुरक्षित ढंगले घरमै सुत्केरी भइरहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४० दशमलव ८३ प्रतिशत महिला घरमै सुत्केरी भएका छन् ।

निर्देशनालयले गत आवमा प्रदेशभर १ लाख ३२ हजार ६ सय ३३ जना गर्भवती हुने प्रक्षेपण गरेको थियो । त्यसमध्ये ७८ हजार ४ सय ८० अर्थात् ५९ दशमलव १७ गर्भवतीमात्र स्वास्थ्य संस्थामा सुत्केरी हुन आएको निर्देशनालयको तथ्यांक छ । तीमध्ये तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट सुरक्षित ढंगले सुत्केरी हुने ५७ प्रतिशत छन् । अघिल्लो आवको भन्दा गत आवमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूको संख्या भने बढेको छ ।

निर्देशनालयका अनुसार अघिल्लो आवमा ५८ प्रतिशतमात्र स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । प्रदेशका १३ जिल्लामध्ये रसुवा, सिन्धुपाल्चोक र रामेछापमा घरमै सुत्केरी हुनेको संख्या बढी छ । रसुवामा २६ प्रतिशतमात्र स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् । ‘सुत्केरी व्यथा लागेपछि धामी, झाँक्री लगाउने चलन छ,’ रसुवाका इन्सेक प्रतिनिधि हेमनाथ खतिवडाले भने, ‘अशिक्षा र नजिक स्वास्थ्य संस्था नहुँदा पनि समस्या छ ।’

यसैगरी रामेछापमा ७२ प्रतिशत र सिन्धुपाल्चोकका ६९ प्रतिशत महिला घरमै सुत्केरी भएका छन् । यसैगरी सिन्धुली र धादिङमा ५८ प्रतिशत घरमा नै असुरक्षित ढंगले सुत्केरी भएका छन् ।

चितवनमा स्वास्थ्य संस्था पुगेर सुत्केरी हुने धेरै छन् । ‘तर ती सबै चितवनका होइनन्,’ जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘चितवनका ८५ प्रतिशतभन्दा बढी गर्भवतीहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने अनुमान गरेका छौं ।’ ललितपुरमा ९० प्रतिशत र काठमाडौंमा ७२ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् ।

मकवानपुरमा ५१, काभ्रेमा ४९, दोलखामा ५१, नुवाकोटमा ५३ र भक्तपुरका ३८ प्रतिशत गर्भवती महिलाहरू असुरक्षित ढंगले घरमा नै सुत्केरी हुने गरेका छन् । संघसँगै स्थानीय तहले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई भत्ताको व्यवस्था गरेको छ । यसले पनि स्वास्थ्य संस्था सुत्केरी हुनेको संख्या बढिरहेको निर्देशनालयकी निर्देशक सावित्री पौडेलले बताइन् । कान्तिपुर दैनिकबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*