सेयर बजारमा ८०.२९ अंकको गिरावट

हेटौडा टुडे
१२ मंसिर २०७८, आईतवार १६:३६

हेटौँडा/ सेयर बजारमा आइतबार निकै गिरावट आएको छ। मौद्रिक समीक्षाका कारण सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेको छ। यसअघि मौद्रिक नीतिले एक बैंकबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो।

आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ। सेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४ र १२ करोडको नीति मौद्रिक नीतिको समीक्षामा संशोधन हुने अपेक्षा गरेका थिए। तर, मौद्रिक नीतिको समिक्षामा ४ र १२ करोडको सीमा संशोधन नभएपछि सेयर बजारमा गिरावट देखिएको छ।

आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ। कारोबारमा सबै समूहको उपसूचक घटेका छन्। जसमा बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत् १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बिमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बिमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। आईसीएफसी फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनीको ८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबीआई बैंकको २ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८ र  ८ प्रतिशत घटेको छ। प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७र७ प्रतिशत घटेको छ।

सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २३ करोड ४८ लाख, नेसनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*