मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई हटाउन माग गर्दै अदालतमा रिट

हेटौंडा टुडे
२०७९ श्रावण ३, मंगलवार १७:०८ गते

हेटौडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ ।युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौँडामा प्रतिष्ठानका उपकुलपति डा. जोशी, रजिस्ट्रार राजेश प्रसाईं, संयोजक चिरञ्जीवी चुडालले बदमासी गरेको पाइएको भन्दै निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश माग गर्दै अदालतमा रिट दायर गर्नु भएको हो । रिटमा ७६ वर्षका उपकुलपतिले कुलपति, सहकुलपतिको निर्देशन नमानेको, शिक्षाध्यक्षले लगेका प्रस्तावहरु सुनुवाई नगरेको, डिन नियुक्त गर्नु पर्नेमा नियमावली बनाएर अन्य कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको संयोजक पद खडा गरी स्वास्थ्य विज्ञान नपढेको व्यक्ति नियुक्त गरेको, २ करोड ६० लाख रुपैयाँ बेरुजु देखिएको, ६ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी पर्दासमेत प्रतिष्ठानको हितमा काम गर्न नखोजेको आरोप लगाइएको छ ।

यति मात्र होइन, प्रतिष्ठानको आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षणसमेत नगराएको, प्रतिष्ठानको सभामा पनि यो विषय पेश नगरी आर्थिक बदमासी लुकाउन खोजिएको आरोप दायर रिटमा उल्लेख छ ।उपकुलपतिले अनुभव र कानुनी मापदण्ड नपुगेका रजिस्ट्रार नियुक्तिमा पनि मौनता साँधेको प्रशासनिक र आर्थिक अनुभव नभएका व्यक्तिहरुलाई प्रतिष्ठानको रकमको कारोबार गर्न दिँदा बदमासीका अलावा बेरुजु देखिएको, अख्तियारमा उजुरी परेको विषय पनि रिटमा उल्लेख छ । प्रतिष्ठानका पदाधिकारी अधिकार, दायित्वबाट पन्छिएर असक्षम र अयोग्य देखिएकाले प्रतिष्ठानकै भविष्य अन्योलमा पर्ने गरी काम भइरहेकाले तत्काल रोक्न, पदाधिकारीहरुलाई पदमुक्त गरी नयाँ पदाधिकारी राखेर प्रतिष्ठानको भविष्य जोगाउन रिटमा अपिल गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*