सर्पको टोकाइबाट प्रधानध्यापक श्रेष्ठको मृत्यु

हेटौंडा टुडे
२०७९ श्रावण १५, आईतवार १४:०३ गते

हेटौडा । करेत सर्पको टोकाइबाट माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफैँ मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।

उपचारको क्रममा श्रेष्ठलाई राति झण्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।स्वासप्रश्वासमा निक्कै गाह्रो भएपछि हामीले स्टेचरमा हालेर एम्बुलेन्समा हाल्ने तयारी गर्दै थियौ । तर, स्टेचरमै स्वासप्रस्वास बन्द भइसकेको थियो,’ चिकित्सक केसीले भने, ‘यदि भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगिन्थ्यो ।’ सर्पले टोकेका बिरामीहरूको स्वासप्रस्वासमा समस्या पर्ने हुँदा सर्पदंश उपचार केन्द्र गौरिडाँडामा भेन्टिलेटरको माग हुँदै आएको छ । तर, स्थानीय सरकार र सरोकारवाला निकायको मौनताले साँध्दै आएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि १ हजारभन्दा बढीले सर्पको टोकाइबाट ज्यान गुमाउँदै आएका छन् । सर्पको उच्च जोखिम रहेको तराईको २३ जिल्लामध्ये महोत्तरी अति संवेदनशील मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*