हेटौडा। प्रहरीले मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङ्तान र बकैया गाउँपालिका वडा नम्वर ५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई उपत्यकाका घरहरूमा पसेर परिवारलाई नियन्त्रणमा लिई नगद तथा सुनचाँदीका गहना डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुसँगै नयाँबस्ती पाटीटार बस्ने सिन्धुपाल्चोक मेलम्ची–७ तालामाराङका ३८ वर्षीय सागर भनिने रामसिंह तामाङलाई पनि पक्राउ गरेको छ ।प्रहरीका अनुसार, पक्राउ परेका तीनै जनामाथि कीर्तिपुर–६ का नारायण बस्नेतको घरमा पसेर धारिलो हतियार देखाई नगद, सुन तथा हीराका गहना डाँका गरी लगेको आरोप छ । साथै उपत्यकाका ३ र उपत्यका बाहिर एक ठाउँमा डकैतीमा संलग्नता पुष्टि भएकाले उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू यसअघि पनि खुन डाँका, चोरी डाँका र कर्तव्यज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेका रहेको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ४२ हजार १ सय ५ रुपैयाँ, २ वटा खुकुरी, एउटा मोटरसाइकल बरामद गरेको जनाइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको छ ।






















