हेटौडा । आइतबार बागमती प्रदेश प्रहरी कार्यालयले हेटौंडामा जिल्ला स्तरीय आत्महत्या रोकथाम सम्बन्धी र्यालीसहितको सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । प्लेकार्ड, माइकिङ, प्रहरी ब्याडसहित हेटौंडा बजारको विभिन्न स्थान परिक्रमा गरी एक समारोहबीच आत्महत्या रोकथाम दिवस मनाइएको हो ।
कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि पाण्डेले आत्महत्या रोकथाम प्रहरीले संचालन गरेको देशव्यापी कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले प्रहरीको यस गतिविधिले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको बताए । कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लागि नीति बनाउन फलदायी हुने बताए ।यस्तै, कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले आत्महत्या रोक्नको लागि सचेतनामूलक कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिए । उनले आत्महत्या रोक्न सबैले आ–आफ्नोतर्फबाट लाग्नुपर्ने बताए ।
यस्तै, प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगत देखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको दाबी गरे । उनले यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगले समन्वय र सहकार्यमा बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमानै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले कार्यक्रमबारेमा जानकारी दिंदै आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुखमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, मकवानपुर स्थित विभिन्न पालिकाहरुका प्रमुखहरु, जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।