हेटौडा। काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते भएका एक व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ। अज्ञात समूहको गोली प्रहारबाट सर्लाही घर भएका लाल मोहम्मदको उपचारका क्रममा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो। उनी सर्लाहीको गोडैता नगरपालिका(८ का स्थायी बासिन्दा रहेका छन्।
उनी १० बर्ष जेल सजाय भुक्तान सक्काएर काठमाडौंमा गार्मेन्ट उद्योग संचालन गर्दै आएका थिए।
गोली कस्ले र किन चलायो भन्ने नखुलेको र खोजी कार्य भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्। मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो। कागेश्वरी मनोहरा नगरपालिका( ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन(चार पटक गोली हान्छन्।गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।