हेटौंडा–३ का सामुदायिक विद्यालयमा निशूल्क अंग्रेजी माध्यमबाट शिक्षा

हेटौडा टुडे
९ आश्विन २०७९, आईतवार १७:४६

हेटौंडा। हेटौंडा ३ बसामाडीमा रहेका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा निशूल्क रुपमा पढाउन सुरु गरेका छन् ।वडा शिक्षा समन्वय समितिले निस्शुल्करुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् । वडामा रहेका बाल उज्जवल मावि र महेन्द्र किरण माविको कक्षा १ बाट अभियान सुरुवात गरिएको हो । शिक्षा समन्वय समितिले हेटौंडा उपमहानगरपालिका, उपमेयर राजेश बानियाँ र युनिलिभर नेपाल लिमिटेडसँगको सहकार्यमा पाँच वर्षभित्र कक्षा ५ सम्म निस्शुल्करुपमा अंग्रेजी माध्यमबाट शिक्षा दिने व्यवस्था गर्ने जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले अभियानको उद्घाटन गरेका थिए । अभियानको उद्घाटन गर्दे उपमेयर बानियाँले शिक्षा क्षेत्रको विकासमा उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले उपमहानगरपालिकाले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्रलाई समावेश गरेको बताए । ‘हामीले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर समावेश गरेका छौं । हामी उपमहानगरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक काम गर्न तयार छौं ।’, उनले भने । उपमेयर बानियाँले हेटौंडामा विभिन्न किसिमको प्राविधिक शिक्षा भित्र्याउनेतर्फ उपमहानगरले काम गरिरहेको बताए । ‘हामी हेटौंडामै प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाउादै छौं । अब प्राविधिक पढ्नका लागि छिमेकी जिल्ला धाउनुपर्दैन ।’, उनले आगामी शैक्षिक सत्रबाट धेरै विद्यालयले प्राविधिक शिक्षाको थालनी गर्ने बताए ।

समितिले कक्षा १ मा अध्ययनरत् ७० जना विद्यार्थीलाई एकवर्षका लागि आवश्यक पर्ने किताबसहित सम्पूर्ण स्टेशनरी सामग्री, ड्ेरस, ट्रयाकसुट र व्यागको व्यवस्था गरेको छ । आगामी वर्षबाट २ कक्षासम्म निस्शुल्क शिक्षाको व्यवस्था गर्ने गरी तयारी गरेको समिति सदस्य टेकनाथ शिवाकोटीले जानकारी दिए । ‘वर्षेनी हामी निस्शुल्क शिक्षाको दायरा बढाउँदै लैजान्छौं । अबको समय अंग्रेजी शिक्षाको हो । त्यसैले हामीले यस्तो व्यवस्था गरेको हौं । शिवाकोटीले भने । वडा अध्यक्ष ढलकबहादुर थापाका अनुसार सम्पूर्ण विद्यार्थीलाई अंग्रेजी माध्यमबाट निस्शुल्करुपमा शिक्षा प्रदान गर्ने गरी तयारी गरिरहेको र त्यसका लागि दाताको खोजी कार्य भइरहेको बताए । अभियानको उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कार्यक्रममा आफ्नो कला तथा सांस्कृति समेत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*