हेटौंडा । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। कृष्ण अधिकारीले जानकारी दिए ।
कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको लागी बिहान १०ः२३ बजेको साइत शुभ रहेको अध्यक्ष अधिकारीले जानकारी दिए । आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आसोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा प्रसाद ग्रहण गरिन्छ । असोज १९ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३४ मिनेटमा रहेको समितिले जनाएको छ । यस्तै टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १९ गते ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।