मोक्तान प्रदेश सभा सदस्यमा निर्वाचित, जनतासँग गरेको बाचा पुरा गर्नेछु

हेटौंडा टुडे
८ मंसिर २०७९, बिहीबार ००:०३

हेटौंडा । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट प्रदेश सभा सदस्यमा बिजयी हुनुभएको छ ।

१६ वर्षको उमेरमै तत्कालिन नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथो पटक संसदको यात्रा तय गर्नुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेद्वार बन्नुभएको मोक्तानले नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई ३ सय २२ मतले पराजित गरी विजयी हुनुभएको हो । कुल ४६ हजार १०७ मत खसेको यस क्षेत्रमा मोक्तानले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका थिए । जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित समग्र मकवानपुरको जित भएको बताउनुभयो । उहाँले आफ्नो पाँच वर्षको कार्यकाल यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्ने बताउनुभयो । मोक्तानले भन्नुभयो, ‘चुनाब प्रचारप्रसारका क्रममा जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’
तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै मोक्तान विद्यालय शिक्षा छाडेर जनयुद्धमा सहभागी हुनुभएको थियो । २०३६ सालमा जन्मिनुभएको मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनैतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसको केहि समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा संगठित हुनुभएको थियो । २०५६ सालमा तत्कालिन शाही नेपाली सेनाबाट पक्राउ पर्नुभएको मोक्तान २०५८ मा रिहा हुनुभएको थियो । २०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव भएको मोक्तान २०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै २०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बन्नुभयो ।
मोक्तान शान्ति सम्झौतापछि २०६३ सालमा विधायीका सदस्य मनोनित हुनुभयो। मोक्तान २०६४ सालमा तत्कालिन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनुभयो । २०७४ को प्रदेशसभा निर्वाचनमा उहाँ यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मोक्तान २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत बन्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*