हेटौंडा | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन्।
फागुन २५ गते मुलुकको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका उनले आज राजीनामा दिएका हुन्।
‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ। नेपालको संविधानको धारा ६२ ९६० बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु,’ उनको राजीनामा पत्रमा लेखिएको छ।
तनहुँ( १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी नेपाली कांग्रेसका नेता थिए। उनले आइतबार नेपाली कांग्रेसबाट पनि राजीनामा दिएका छन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। उनी आज नै शितलनिवास सर्ने बताइएको छ।


















