हेटौडा। गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।यस्तै, आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन ।
गर्मीयाम सुरु भएसँगै गुल्मीका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रनिधिहरु खटिएर आगो नियन्त्रणमा लिने काम गरिरहेका छन् ।




















