हेटौंडा । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम एवं अन्तरक्रिया सम्पन्न भएको छ ।
४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूको तालिम एवं अन्तरक्रिया सम्पन्न भएको हो । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । अन्तरक्रियामा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिएकी थिईन् ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरेकी थिईन् ।
तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिईन् । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
चैत ५ गतेबाट संचालन भएको तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।