हेटौंडा| मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने पालिकाहरुका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरु छनौट गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको संयोजकत्वमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले लाभग्राहीको छनौट गरेको हो ।
बैठकले हेटौँडा उपमहानगरपालिकाको १, ३, ११ र १९, थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका गरी अनुदानका लागि ३८६ लाभग्राही छनौट गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले जानकारी दिए ।
उनका अनुसार, घरको छाना छाउन दुई किस्तामा गरी पालिकामार्फत ७५ हजार रुपियाँ अनुदान लाभग्राहीले पाउने व्यवस्था छ । उक्त कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०७९/८० का लागि एक हजार २४८ घर संख्या स्वीकृत भएकोमा यसअघि समितिले हेटौंडा उपमहानगरपालिकाबाट १४१, थाहा नगरपालिकाबाट ३८, राक्सिराङ गाउँपालिकाबाट १६६ र कैलाश गाउँपालिकाबाट १२५ गरी ४७० लाभग्राही छनोट गरेको थियो ।
कार्यविधिमा अनुदान बापतको रकम पालिकामा पठाउने र पालिकाले कामको आधारमा किस्ताबन्दी रुपमा दिने व्यवस्था रहेको छ ।
लाभग्राहीले बसोबास गर्दैआएको घरको छाना पराल, खर, पराल, आसवेसटस विटमिन ड्रम वा यस्तै प्रकृतिका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुने अन्य सामग्रीबाट छाएको घरका लाभग्राहीले अनुदान पाउने छन् ।
लाभग्राही छनौट भई स्थानीय तहले अनुदान सम्झौता गरेका लाभग्राहीलाई जस्तापाता, काठलगायतका सामग्री खरिद गर्न पहिलो किस्तामा अनुदानको ६० प्रतिशत र बाँकी ४० प्रतिशत अनुदान रकम काम सम्पन्न भएपछि स्थानीय तहको प्राविधिक प्रतिवेदनसहित सिफारिसका साधारमा भुक्तानी पाउने जिसस प्रमुख घलानले बताए ।






















