हेटौडा। हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र संचालमा रहेका निजी विद्यालयहरुमा कानून अनुसारको छात्रवृत्ति वितरणमा कडाई गर्न सुरु गरिएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै यही असार २० गतेसम्म छात्रवृति दिएका विद्यार्थीहरुको पूर्ण विवरण र अभिभाककको मोवाइल नम्बरसहित उपमहानगरपालिकामा बुझाउन भनिएको छ ।उपमहानगरपालिकाभित्र रहेका निजी विद्यालयहरुले छात्रवृत्तिमा विद्यार्थी नपढाउने गरेको गुनासो गरेपछी उपमहानगरले सूचना जारी गरी विवरण बुझाउन आग्रह गरेको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए ।
हेटौंडाका बोडिङहरुमा एक सय देखि २ हजार जनासम्म विद्यार्थीहरु अध्यनरत छन् । अब विद्यालयले विवरण बुझाएपछी नियमित रुपमा अनुगमन गर्ने र विद्यार्थीले पाउने छात्रवृत्ति वितरणमा कडाइ गरिने उनले बताए ।
उनका अनुसार, ५ सय जनासम्म विद्यार्थी भएका निजी विद्यालयले १० प्रतिशत, ५ सय भन्दामाथि ८ सय जना विद्यार्थी भएका निजी विद्यालयले १२ प्रतिशत, ८ सय जना भन्दामाथि विद्यार्थी भएका निजी विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति रकम दिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।
उपमहानगरपालिकाले सोही कानूनी व्यवस्था अनुरुप कार्यान्वयनमा ल्याउन लागिएको प्रमुख रिमालले बताए ।





















