भोलिबाट चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक

हेटौंडा टुडे
२०८० असार १५, शुक्रबार १०:५१ गते

हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जले भोली असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ सफारीमा रोक लगाएको छ ।
वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।
यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन् । सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको उनले जानकारी दिए ।
यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन् । डुङ्गा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको उनले बताए । राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*