चण्डिका माविमा बस सेवा सञ्चालन

हेटौंडा टुडे
३ श्रावण २०८०, बुधबार १६:४३

हेटौंडा| मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित श्री चण्डिका माद्यमिक विद्यालयले बालबालिकाहरुलाई विद्यालय आवतजावतमा समस्या नहोस् भनेर बस सेवा सञ्चालन गरेको छ ।

यसले बालबालिकाहरुलाई विद्यालय आवतजावत गर्न सहज हुने प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिए ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको २५ लाख रुपैयाँ बजेटबाट बस खरिद गरी सञ्चालन गरिएको उनले बताए ।

बस नहुँदा बकैया– १२ जितपुर भञ्ज्याङ् मकवानपुरगढी–१ लेनडाँडा, गढी–७ खोरभञ्ज्याङलगायतका ठाउँहरुबाट बालबालिका घण्टौँ लगाएर विद्यालय आवतजावत गर्न बाध्य थिए ।

‘विद्यालय आउन मात्रै ३ घण्टा लाग्ने ठाउँका बालबालिका पनि हुनुहुन्छ । आउन जान ६ घण्टा लाग्थ्यो । बस भएपछि धेरै सहज भएको छ । यो नै पर्याप्त भने होइन, अहिलेलाई धेरै ठूलो राहत पुगेको छ ।’ प्रधानाध्यापक फुयाँलले भने ।

बस सेवाका कारण विद्यार्थी नियमित रुपमा विद्यालय आउने, आवत जावतका क्रममा थकाई कम लाग्ने तथा समयको बचत हुँदा शैक्षिक गुणस्तर अभिवृद्धितर्फ विद्यार्थीले ध्यान दिन पाउने उनले बताए ।

त्यस्तै विद्यालयका अध्यक्ष राजकुमार गोलेले प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको विशेष पहलमा बजेट आएको र बालबालिकाहरुका लागि बस खरिद गरिएको बताए ।

‘इन्द्र बानियाँज्यूले हामीलाई अभिभावकको रुपमा जुनसुकै समयमा सहयोग गर्दै आउनुभएको छ । उहाँकै विशेष पहलमा विद्यालयले आफ्नै बस सेवा सञ्चालन गर्ने वातावरण बनेको छ । यहाँका सयौँ बालबालिका सहज र सुरक्षित रुपमा विद्यालय आउनसक्ने वातावरण बनाइदिनुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहान्छु ।’ गोलेले भने ।

विद्यालयले विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको ३ महिने तालिम दिन लागेको उनले बताए । त्यस्तै कम्प्यूटर कक्षा, अंग्रेजी मिडियमबाट अध्यापन गराउन शिक्षकहरुलाई तालिम दिने कार्य भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*