हेटौडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सवारी चालक इलामको एक होटलमा मृत फेला परेका छन् । सूर्योदय नगरपालिका–४, अन्तुभञ्ज्याङको मुनलाईट होटलमा हेटौंडा उपमहानगरका चालक अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ मृत फेला परेको इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए ।उनका अनुसार हिजो शनिबार उपमहानगरका कर्मचारीहरुसहित तामाङ ना ४ च ७४८३ नम्बरको गाडीमा अन्तुभञ्ज्याङ आइपुगेका थिए ।
उनी गएराति करिब ११ बजे कर्मचारीहरूसँगै खाना खाएर सुतेका थिए । बिहान साढे ५ बजे कर्मचारीहरु उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।शव सोही होटलमा रहेको छ । परिवार र उपमहानगरपालिकालाई खबर गरिसकेको इन्स्पेक्टर राईले बताए । परिवारका सदस्यहरुले आफूहरु आउँदै गरेको खबर गर्नुभएको छ । आफूहरु नआउञ्जेल शव नउठाउनु भन्नु भएकाले हामीहरु आफन्तलाई कुरिरहेका छौँ । इन्स्पेक्टर राईले भने परिवारका सदस्यहरु उपमहानगरकै गाडीमा आइरहनु भएको भन्ने जानकारी आएको छ ।





















