बस्तीपुरको खुस्बु बेकरीमा सिल, ३ पसल जरिवानामा

हेटौंडा टुडे
१९ श्रावण २०८०, शुक्रबार १४:३४

हेटौंडा । हेटौंडामा अनुगमन टोलीले एक बेकरी उद्योगमा सिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौँडा १९ बस्तीपुरको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो ।
उद्योगले गत २०७७ सालदेखि नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको, बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु प्रयोग गरिएको, उत्पादित वस्तुमा लेबल नभएको, नापतौल उल्लेख नगरिएको, उद्योगमा उत्पादन तथा बिक्री तथा अनुमति नभएका गुट्खा, चकलेट, मिठाइलगायतका सामग्री फेला परेपछि उद्योगको मेसिन र उत्पादित सामग्री भण्डारण कक्षमा सिल गरेर २ लाख ५० हजार रुपैयाँ जरिवानासमेत गरेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टीका शर्माले जानकारी दिइन् । उद्योगलाई तीन दिनभित्र सम्बन्धित कार्यालयहरूबाट नवीकरण तथा अनुज्ञापत्र नवीकरण गरी कार्यालयमा उपस्थित हुन भनिएको छ।
अनुगमन टोलीले बस्तीपुरको सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानले सञ्चालन गरेको किराना तथा मासु पसललाई १०/१० हजारका दरले जरिवाना गर्नुका साथै सचेत गराएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र उपभेक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*