हेटौडा । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटा जिल्लाका ३० वटा सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ‘ड्रिम भिजन’ का रुपमा तयार पारिएको यो कार्यक्रम यही असोजदेखि लागु गर्न लागिएको हो । पहिलो चरणमा प्रदेशका मावि तहका ३० वटा विद्यालयमा सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले १ करोड ८१ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए ।
यो कार्यक्रमको उदेश्य शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा एउटा उद्यमी÷व्यवसायी, सीपयुक्त र स्वाबलम्बी नागरिक तयार पार्ने रहेको निमित्त निर्देशक दर्जीले बताए । बितेको आर्थिक वर्षमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आर्थिक वर्षमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको हो ।
‘यो कार्यक्रम निकै महत्वपूर्ण कार्यक्रम रहेको छ । विद्यार्थीहरु विद्यालयबाट अध्ययन गरेर निस्किसकेपछि बेरोजगार भए र केही सिक्न सकेनन् भन्ने कुरा उठ्ने गरेको छ,’ उनले भने, ‘त्यही समस्यालाई हटाउन शिक्षालाई सीपसँग जोड्ने उदेश्यले यो कार्यक्रम तयार पारिएको हो ।’ उनका अनुसार गरिबीको रेखामुनि रहेका समुदायका विद्यार्थी र आफैंले कमाएर अध्ययन गर्ने ईच्छुक भएर विद्यार्थीलाई अध्यनको अतिरिक्त आयमूलक कार्य गरी पढ्ने वातावरण सिर्जना गर्न यो कार्यक्रमले सहयोग गर्ने बताए । निर्देशक दर्जीका अनुसार कार्यक्रम लागू गर्नका लागि तयार पारिएको कार्यबिधि पास भईसके पनि पत्रपत्रिकामा सूचना प्रकाशित गरिने छ ।
सूचना प्रकाशित भए पछि विद्यालयले आफ्नो स्थानीय हावापानी र भुगोल अनुसार उपयुक्त हुनेगरी बस्तु तथा सेवाको उत्पादनका लागि विद्यालयले गर्न सक्ने कार्यक्रम प्रस्ताव गर्नुपर्ने छ । विद्यालयले कार्यक्रम प्रस्ताव गर्दा स्थानीय तहको लगानी पनि हुने गरी प्रतिवद्धता भएको प्रस्ताव पेश गर्नुपर्नेछ र त्यही प्रस्ताव अनुसार निर्देशनालयले विद्यालय छनोट गर्नेछ । प्रदेश सरकारले यो वर्ष ३० वटा सामुदायिक माविमा परीक्षणको रुपमा कमाउँदै पढ्दै कार्यक्रम लागू गर्न खोजेको बताइएको छ ।
विद्यालयले सिक्दै कमाउँदै कार्यक्रमका लागि कृषि, ईन्जिनियरिङ सम्बन्धी, पर्यटन उद्योग, वन तथा वातावरण, अटो मोबाइल, व्यावसायिक क्षेत्र र विद्यालयको हावापानी भुगोल अनुसार पेश गर्न पाउने निमित्त निर्देशक दर्जीले बताए । सोही प्रस्तावको आधारमा निर्देशनालयले बजेट पठाउने उनले बताए । नेपालका अधिकांश विद्यालयमा सैद्धान्तिक पढाइ मात्र हुन्छ । पाठ्यपुस्तकमा भएका कुरा घोकेर परीक्षामा लेख्ने अनि त्यसैका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने पद्धति छ ।
सुर्खेतको बड्डीचौरस्थित जनज्योति माविले नेपालमा पहिलोपटक विद्यालयस्तरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गरेको थियो । विद्यालय तह पार गरेपछि विद्यार्थी उत्पादनमूलक काममा लाग्नुभन्दा पनि सीप सिक्ने काममा लाग्नु परेको अवस्थालाई परिबर्तन गर्न जनज्योति माविले विद्यालयमा व्यावहारिक शिक्षालाई जोड दिएका थियो । जनज्योति माविले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई बागमती प्रदेश सरकारले पनि सुरु गर्न लागेको हो । अहिले यो कार्यक्रम राष्ट्रिय अभियानकै रुप लिएको छ । जनज्योतिका विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन,मौरीपालन आदिको सीप पनि दिइन्छ ।
‘सुरुमा यस्ता कार्यक्रम ल्याउँदा अभिभावकले केही आशंका गरेको अनुभव जनज्योति माविसँग छ । अहिले छोराछोरीले विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्दा अभिभावकहरु खुशी भउका छन् । पहिले ६ रोपनीमा रहेको जनज्योति मावि अहिले २० रोपनीमा फैलिएको छ । विद्यार्थीलाई सीप सिकाउनकै लागि थप जमीन भाडामा लिएर विभिन्न कार्यक्रम चलाइएको छ । विद्यालयसँग अहिले २० विघा जमिन छ । जहाँ ४ सय अनार लगाइएको छ । ६० वटा बाख्रा छन् । १ विघामा माछा छ । ६५ घार मौरी छन् । यसैगरी जटिबुटी प्रशोधन केन्द्र छ ।
गाई, कुखुरा, हास, बंगुर, बट्टाइ, टर्की चरा, खरायो लगायतका जनावर पालिएको छ । विद्यार्थीले टनेलमा मौसमी बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विद्यालयले कमाउँदै पढ्दै अभियानलाई जोड दिएको छ र विद्यार्थी कमाउँदै पढ्दै छन् । विद्यालयले विद्यार्थीलाई माग अनुसार ऋण पनि दिने गरेको छ । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले जनज्योति मावि सुर्खेतको कमाउँदै पढ्दै कार्यक्रमको स्थलगत अवलोकन पनि गरेका थिए ।