हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ ।मंगलबार हेटौँडा उपमहानगरपालिका र अस्पताल व्यवस्थापन तथा विकास समितिबिच भवन निर्माणको लागि ८० लाख रुपैयाँ दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा भएको सहमतीमा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाइँ र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमती अनुसार उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागी आवस्यक भवन निर्माण गर्न ३ किस्तामा ८० लाख रुपैयाँ अस्पताललाई दिने सम्झौता भएको छ । सम्झौतापछि मेयर लामाले नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताललाई भवन निर्माणका लागी आवस्यक रकम उपलब्ध गराउँने सहमती भएको बताईन् । हेटौँडामै सुविधा सम्पन्न स्वास्थ्य सेवा दिनसके उपचारका लागि स्थानीयले बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पताको सेवा विस्तारमा सहयोग बढाएका हौं ।’ मेयर लामाले भनिन् । उनले हेटौँडा उपमहानगर अस्पताल सुधारको लागि सहयोग गर्न तयार रहेको पनि बताइन् ।हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रसाइँले ३ किस्ता मार्फत प्राप्त हुने रकमबाट ठेक्का मार्फत आउँदो चैतसम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाउने जानकारी दिए ।





















