हेटौँडा । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्खया ८८९ पुगेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा २०८० साउन एक गतेदेखि २०८१ असार ९ गते आइतवारसम्म पुरुष चार सय ५५ र महिला चारसय ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जिल्लामा डेंगु सङ्क्रमित देखिन थालेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २८२ पुरुष र २८७ महिलागरी ५६९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा सबैभन्दा कम एकजना पुरुषमा डेंगु सङ्क्रमण भएको छ ।
त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ९ गरी २१ जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३१ जना महिलागरी ७३ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २४ जना र १५ जना महिलागरी ३९ जना, बकैया गाउँपालिकामा पुरुष १३ जना र १३ जना महिलागरी २६ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुष र एकजना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
हेटौँडा अस्पतालमा पुरुष ४२ जना र महिला ४० जना गरी ८२ जना र अन्य जिल्लाका पुरुष ११ जना र महिला ३ जना महिलागरी १४ जना र ठेगाना नखुलेका १६ पुरुष र १४ महिला सहित ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीन हजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला थिए ।