हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसीको ज्यान गएको छ । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, दुई घाइते र नौ वटा भैँसी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । बागमती नगरपालिका–३, जिरायतमा व्यावसायिक रुपमा भैँसी पालन गर्दै आएका रामप्रताप रायको खपडाले छाएको गोठ बुधबार बिहानीपखको हावाहुरीले भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् । इलाका प्रहरी का अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको हो । बागमती क्षेत्रमा हावाहुरीसहित राति पानी र ठूलो हावाहुरी चले पनि यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
सेयर गर्नुहोस्






















