हेटौंडा । मकवानपुरमा वृद्धलाई ठक्कर दिएर भागेको गाडी चालकलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको छ । थाहा नगरपालिका– १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा गएराति वृद्धलाई ठक्कर दिएर भागेको बा।प्र। ०३–००१ च १७८७ नम्बरको गाडी चालकलाई थाहा नगरपालिका २ फाँट बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गाडी चालक २२वर्षका प्रकाश तामाङ लाई उक्त ठक्कर दिने गाडीसहित नियन्त्रणमा लिएको हो । साथै प्रहरीले गाडीमा सवार थाहा नगरपालिका– २ का १८ वर्षीय सुजल कार्कीलाई पनि पक्राउ गरेको छ । गाडीले ठक्कर दिँदा थाहा नगरपालिका ६ का ७१ वर्षीय सीताराम महर्जनको मृत्यु भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई स्थानीय वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो। सतुङ्गलमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएका हुन।




















