हेटौंडा। ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासनहका २२ वर्षीय अजमुल हक अन्सारी रहेका छन् । उनको साथबाट ब्राउन सुगर १४७ ग्राम १८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ब्राउन सुगरसहित अन्सारीलाई बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अन्सारीलाई शंका लागेर प्रहरीले खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकको पुडियामा लुकाएर राखिएको १४७ ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा अन्सारीलाई बुधबार अपरान्ह पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।




















