माइतीघर क्षेत्रमा प्रहरीले बढायो सुरक्षा

हेटौंडा टुडे
२०८२ आश्विन २३, बिहीबार १२:१६ गते

हेटौंडा। जेन-जी समूहले आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरीले माइतीघर क्षेत्रमा प्रहरी परिचालन गरेको छ। विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ । गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।

जेन-जी अगुवा सुदन गुरुङको समूहले बिहीबारदेखि माइतीघरमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए। माइतीघरमा धर्ना-प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन।

गुरुङको समूहले सोमबार पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

लगत्तै भोलिपल्ट एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र गुरुङविरूद्ध जाहेरी दिएका थिए। दुई समूह एकले अर्कोविरूद्ध जाहेरी परेपछि प्रहरीले दुबै जाहेरी जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगमा पठाउने तयारी गरेको छ।

यसअघि, बुधबार बेलुका गृह मन्त्रालयले वार्ता र संवादबाटै समस्या समाधान गर्नुपर्ने भन्दै धर्ना र प्रदर्शन नगर्न अनुरोध गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*