विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि बिर्सने छैन: प्रधानमन्त्री कार्की

हेटौंडा टुडे
२०८२ आश्विन २९, बुधबार १५:४४ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छन्।  प्रधानमन्त्री कार्कीले  वक्तव्य जारी गर्दै जोशीको आत्माको चिरशान्तिको कामना गर्दै भन्नुभयो, “उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।”

उहाँले दुई वर्षदेखि बन्धकमुक्त हुने अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको विपिनको मृत्युको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।”

प्रधानमन्त्रीले विपिन जोशी केवल एक विद्यार्थी नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै उहाँको जीवन उत्साह, लगनशीलता र सहयोगी स्वभावले भरिएको बताउनुभयो। “उहाँ सकुशल फर्किएर नेपालको विकासमा योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो,” उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले सदा शान्ति पक्षधर नेपालको छोरा विपिन जोशी अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “उहाँको अपहरणपछि सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए। उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।”

प्रधानमन्त्रीले जोशीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा देखाउनुभएको साहस, बहादुरी र त्यागका कारण कैयौं साथीहरूको ज्यान बचाउन सफल भएको जनाउँदै भन्नुभएको छ, “उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*