हेटौंडा । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।
विभागका अनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।
विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ ।
यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरिएको छ। जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्नेछ।
अध्यागमन विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तब्य र यात्राको बारेमा पूर्णरूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध गरेको छ ।





















