मेयर लामालाई दिएको बलात्कारको धम्की विरुद्ध वडाध्यक्ष सिग्देल द्वारा कारबाहीको माग

हेटौंडा टुडे
२०८२ कार्तिक १९, बुधबार ११:४० गते

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले हेटौंडाकी मेयर मीनाकुमारी लामामाथि सामाजिक सञ्जालमा व्यक्त गरिएका धम्कीपूर्ण र आपत्तिजनक टिप्पणीबारे गम्भीर आपत्ति जनाएका छन्।  अध्यक्ष सिग्देलले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल कारबाहीको माग गर्नुभएको छ ।

मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बलात्कार गर्ने धम्की लगायतका आपत्तिजनक सन्देशहरू आइरहेको सार्वजनिक गरेलगत्तै वडाध्यक्ष सिग्देलले पनि सोही माध्यमबाट प्रतिक्रिया दिँदै घटनाको घोर भर्त्सना गर्नुभएको हो ।

वडा अध्यक्ष सिग्देलका अनुसार, मेयरमाथि चरित्रहानी गर्ने र असुरक्षित वातावरण सिर्जना गर्ने गरी फेसबुकवालमा गरिएको टिप्पणीले स्थानीय सरकार र समाजमा चिन्ता उत्पन्न गरेको छ।

सिग्देलले भने, “हामी जनप्रतिनिधिहरू उपमहानगरपालिका र वडा कार्यालयमा, साथै आफ्नै घर जल्ने परिस्थितिमा पनि जनतालाई सेवा दिइरहेका छौँ। हामीले कुनै अपराध गरेका छैनौँ, तर जनप्रतिनिधिहरू असुरक्षित महसुस गरिरहेका छौँ।”

उहाँले यस्ता धम्कीपूर्ण र अपराधी नियतका कृत्यको घोर भर्त्सना गर्दै तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसमक्ष माग गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत प्राप्त जानकारी अनुसार, मेयरमाथि व्यक्त गरिएका अभिव्यक्तिले न केवल व्यक्तिगत सुरक्षा, तर समग्र समाजको सुरक्षामाथि पनि प्रश्न उठाएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*