हेटौंडा । हेटौंडा बजार क्षेत्रको संरचना हटाउन दिएको १५ दिनको अल्टिमेटम आज सकिँदै छ। रातोमाटेदेखि बुद्धचोक–रा प्ती पुल हुँदै सामरी पुलसम्म २५/२५ गज सीमाभित्र पर्ने घर–टहरा, सूचक संरचना र व्यवसायिक संरचनाहरू हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सूचना जारी गरेको थियो।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैं भत्काउने सूचनामा छ । तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छै्रनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरु आन्दोलित छन् । सडक विस्तार हुने क्षेत्रका व्यवसायीमात्रै प्रदर्शनमा देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईं बताउँछन् । केही सीमित घरधनीहरु घर भत्काउन तयार बन्दै आफ्ना सामान अन्यन्त्र व्यवस्थापन गरिसकेका छन् । तर अधिकांश घरधनीहरु आन्दोलनमा होमिँदै सडक डिभिजनको विस्तार कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन् ।
शनिबारदेखि सडक सीमाभित्र पर्ने ५३१ घरटहरा तथा भौतिक संरचना हटाउन सुरु गर्ने भएको छ । कार्यालका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले पटक–पटक रोकिएको सडक विस्तार कार्य यसपटक भने कानुनी आधारका साथ अघि बढाइने बताए । पहिलो चरणमा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गरिने उनको भनाइ छ । उनका अनुसार रातोमाटेदेखि ९.५ किमि सडक सीमाक्षेत्रभित्र रहेका दुई बैंक, तीन पेट्रोलपम्पसहित अन्य निजी, स्थायी तथा अस्थायी भौतिक संरचना हटाइनेछ ।
यसअघि असार २०७६ मा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजन मैदानमा उत्रिएको छैन । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।
सडक डिभिजनले पछिल्लो पटक दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक डिभिजन रोकिएको थियो । सोही मुद्दाको फैसलालाई टेकेर अहिले सडक विस्तार हुन लागेको हो ।
सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भोलि २० मंसिरदेखि अतिक्रमित घरटहरा लगायतका संरचनाहरु भत्काउन सुरु गरिने अनलाइनखबरलाई जानकारी दिए । ‘अब सधैं सडक विस्तार रोकिराख्ने, कहिल्यै पार नलाग्ने भनेर कहाँ हुन्छ र । यसलाई विस्तार गर्नुपर्छ । हामी भोलिदेखि काम अगाडि बढाउन तयारी अवस्थामा छौं,’ अधिकारीले भने ।
सडक डिभिजनसँग २० वटा हेभी उपकरणहरु रहेको र यो पुग्दो अवस्थामा भएको प्रमुख अधिकारीले बताए । तीन तलासम्मको टप निकाल्न मिल्ने उपकरण पनि रहेको उनको भनाइ छ ।
‘हामीसँग उपकरणको कमी छैन । सायद सबै प्रयोग गर्न नपर्न सक्छ । यदि आवश्यक परे काठमाडौं र जनकपुरबाट पनि माग्छौं । भाडामा पनि लिन सक्छौं । सडक विस्तार कार्यमा उपकरणले समस्या हुँदैन,’ उनले भने । डिभिजन प्रमुख अधिकारीले आवश्यकता अनुसार २–३ ठाउँबाट अतिक्रमित संरचना हटाउन काम सुरु गर्ने बताए ।




















