हेटौडा । मंसिर ५ गते सडक डिभिजन हेटौंडाबाट २५/२५ गज भित्र पर्ने संरचना हटाउन सूचना जारी भएको दिनदेखि नै पीडितलाई क्षतिपूर्ति दिलाउन आफू संघीय निकायमा दौडधुपमा लागेको हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले दाबी गरेकी छन्।
सडक चौडाइ अनुसार संरचना भत्किएपछि प्रभावित स्थानीयको चासो बढेको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सडक विस्तारलाई ‘असामान्य तर आवश्यक’ कार्यका रूपमा व्याख्या गरेकी छन्। “सडक विस्तारको सूचना आएसँगै मैले पीडितलाई उचित क्षतिपूर्ति दिलाउन संघीय सरकारका विभिन्न निकायमा दौडधुप गरेँ,” नगरप्रमुख लामाले लेखेकी छन्। उनका अनुसार भत्किएका घर–संरचना पुनर्निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रक्रियामा उपमहानगरपालिका अर्थ मन्त्रालयसँग छलफल अघि बढाउनेछ। संरचना पुनर्निर्माणका कानुनी पाटालाई द्रुततर रूपमा अघि बढाइने र अनावश्यक झन्झट हटाइने उनको भनाइ छ।
प्रभावित व्यवसायीलाई व्यवसाय कर छुट दिलाउन पहल गरिने रहेको उनले उल्लेख गरेकी छन्। सडक विस्तारका कारण घरबार विहीन बनेकाहरूको आवास व्यवस्थापनमा पनि नगरपालिका सक्रिय रहने उनले बताइन्। यस्तै, प्रभावित नागरिकले नयाँ संरचना निर्माण गर्दा २ हजार वर्गफुटसम्म नक्सापास दस्तुरमा छुट दिने प्रस्ताव नगरपालिकाले अघि सार्ने तयारी भएको उनले जनाइन्। चौडा सडकसँगै हेटौंडाका ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका संरचनाको पुनर्निर्माण पनि आवश्यक रहेको उनले विशेष जोड दिइन्।
सडक विस्तारपछि देखिएका समस्या, राहत र सहुलियतसम्बन्धी प्रस्तावलाई आइतबार बसेको कार्यपालिका बैठकले नगरसभा समक्ष पेस गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ। प्रमुख लामाले अब भत्किएका संरचना चाँडो पुनर्निर्माण गरी चौडा सडकसहित ‘नमुना हेटौंडा’ निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै नागरिकलाई साथ सहयोगका लागि आफ्नो सामाजिक संजाल मार्फत आह्वान गरेकी छन्।


















