हेटौंडा अस्पतालमा ६ दिने शिशुको मृत्यु, अस्पतालको लापरबाहीले मृत्यु भएको परिवारको आरोप

हेटौंडा टुडे
२०८२ पुष १, मंगलवार १२:०१ गते

हेटौंडा ।  हेटौंडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको ६ दिने नवजात शिशुको मृत्यु भएको छ ।  आज बिहान नवजात शिशुलाइ डिउटिमा रहेको नर्सले हिटरले सेकाउने क्रममा लापरबाही गर्दा करेन्ट लागेर शिशुको मृत्यु भएको हो । परिवारले अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्।  परिवारका अनुसार सामान्य प्रसूति भएर जन्मिएको शिशु र आमा दुवैको अवस्था सामान्य थियो।

घर जान खोज्दा अस्पतालले नछाडेको र भोलिपल्ट शिशुलाई एनआईसीयुमा भर्ना गरिएको उनीहरूको भनाइ छ। एनआईसीयुमा रहँदा शिशुको नियमित चिकित्सकीय निगरानी नभएको र नर्सहरू समयमै उपस्थित नहुने गरेको आरोप परिवारले लगाएका छन्।

शिशुका बाबुका अनुसार आज बिहान साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई ‘हिटरमा राख्नुपर्छ’ भन्दै  राखिएको थियो । उनका अनुसार बिहानको समयमा वार्डमा न त नर्स थिए, न त चिकित्सक नै।  “ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि जाँच गर्न आएका डाक्टरलाई ‘मान्छे बितिसक्यो, के चेक गर्नु’ भनेर फर्केर गए,” उनले भने। केही समयमै शिशुको सास रोकिएको पाइएको परिवारको दाबी छ।

घटनाका बेला वार्डमा नर्स, चिकित्सक कोहि पनि उपस्थित नरहेको आरोप पनि लगाइएको छ।  हिटरबाट निकाल्दा शिशुको शरीर निलो भइसकेको र अत्यधिक तापक्रम वा उपकरणमा समस्या भएको आशंका गरीएको छ ।

परिवारले अस्पताल प्रशासनलाई जिम्मेवार ठहर गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

हेटौंडा अस्पतालमा लापरवाहीको घटना दिन प्रति दिन बढ्दै पनि गएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*