हेटौंडा । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशद्वारा निर्माण गरिएको चित्लाङ भ्यु–टावरको उद्घाटन समारोह थाहा नगरपालिका–९, चित्लाङमा सम्पन्न भएको छ। समारोह माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा संस्कृति तथा पर्यटन माननीय मन्त्री सुरेश श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा बोल्दै माननीय मुख्यमन्त्री बानियाँले चित्लाङ क्षेत्रको प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै भ्यु–टावरले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उहाँले यस्ता पूर्वाधारले स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना तथा समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए।
उनले विकासमा एकताको नयाँ भाष्य निर्माण गर्नुपर्ने भन्दै मकवानपुरको (दामन, पालुङ, चित्लाङ) लाई पर्यटनको हब बनाउन प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको कनेक्टिभिटीले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने उनले बताए ।
मुख्यमन्त्री बानियाँले सङ्घीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्बन गर्नुपर्ने बताए । प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठुला आयोजनामा साझेदारी गर्न सकिने उनको भनाई छ ।
उद्घाटनपश्चात भ्यु–टावरको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी औपचारिक रूपमा थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। थाहा नगरपालिकाका प्रतिनिधिहरूले टावरको संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


















