प्रकृतिले दिएको चरम शारीरिक यातना

सुजाता गौतम
२०८२ पुष ११, शुक्रबार १२:३४ गते

हेटौडा ।  म मानव हुँ। मानव अधिकारको प्रयोग गर्दै बाँच्न पाएको छु। तर म प्रकृतिले नै दिएको चरम शारीरिक यातना सहँदै बाँचिरहेको छु । मेरो शारीरिक पीडा दिनप्रतिदिन बढ्दै गएको छ। मानसिक तनाव, पारिवारिक, आर्थिक र सामाजिक पीडाले मलाई निरन्तर सताइरहेका छन्। म अहिले ओछ्यानमै सीमित भएको छु। चेतना भने अझै बाँकी छ। म मस्तिष्कबाट गरिने हरेक काम सोच्न, योजना बनाउन सक्छु, तर मेरो सम्पूर्ण ध्यान शरीरको पीडामै केन्द्रित हुन्छ। कसरी बाँच्ने र दैनिकी कसरी चलाउने भन्ने सोचमै अल्झिएर म केही गर्न नसक्ने अवस्थामा पुगेको छु।

म मानव भएर जन्मिए पनि आजसम्म मानव धर्म निभाउन सकेकी छैन जस्तो लाग्छ। म पशु सरह जीवन बाँचिरहेकी छु। घरमा आफन्तहरू आउँदा पनि पीडादायी कुराहरू मात्रै गर्ने भएकाले मलाई कहिलेकाहीँ कोही पनि नआए राम्रो हुन्थ्यो, मेरो बारेमा केही पनि कुरा नगरे हुन्थ्यो जस्तो लाग्छ। मेरो उमेरका अरू मानिसहरूसँग तुलना गर्दै उनीहरूको उन्नति, प्रगति र सफलताको कुरा सुनाइन्छ। “अनुहार त राम्रो छ, के गर्नु, आमा भन्दा पहिल्यै मरे त हुन्थ्यो”, “आमा पछि बाँचिरह्यो भने कसले स्याहार गर्छ?”, “कुन जन्मको पापले होला”, “मरेपछि त सुख पाउँछे”, “छिट्टै मृत्यु भए हुन्थ्यो” जस्ता कुरा मेरै अगाडि भनिन्छ।

एकछिनको बनावटी वैराग्य देखाएर गरिने यस्ता कुराले मलाई र मेरो परिवारलाई झनै पीडा हुन्छ। त्यसैले कोही पनि घरमा नआए राम्रो हुन्थ्यो भन्ने लाग्छ। आमालाई पनि “यो छोरी नमरेसम्म तिमीलाई सधैँ यस्तै दुःख हुन्छ” भन्ने गरिन्छ। मनमनै कहिलेकाहीँ लाग्छ—आमा पछि भएमा म पनि आमासँगै जानुपर्ने हो कि। म जन्मदेखि अपाङ्ग नभएकी हुनाले होला, पहिले आफैँ सबै काम गर्ने, अरूलाई सहयोग गर्ने म आज आफ्नै दैनिकी अरूको सहयोगमा चलाउनुपर्दा शब्दले व्यक्त गर्न नसकिने पीडा महसुस गर्छु। यो पीडा अरूले नदेख्ने गरी भित्रै दबाएर राखेकी छु।

म आफैँ शौचालय जान नसक्ने भएकाले आमाले बोकेर लैजानुहुन्छ। मलाई मलमूत्र नियन्त्रणमा समस्या छ। धेरै पटक आमाले बोकेको अवस्थामै उहाँको शरीरभरि मेरो दिशा–पिसाब लाग्छ। आमालाई भएको कठिनाइ र पीडा देख्दा म अत्यन्तै पीडित हुन्छु। म आफैँ सफा गर्न सक्दिनँ। मेरा हरेक काम आमाले नै गरिदिनुहुन्छ। कहिलेकाहीँ आमाले मलाई बोक्न नसकेर रुनुहुन्छ। जाडो महिनामा आमाको घुँडाको हड्डी दुख्ने गर्छ। मेरो तौल धेरै र शरीर सहज रूपमा नअडिने भएकाले मलाई बोक्न झनै गाह्रो हुन्छ। बारम्बार शौच जानुपर्ने भएकाले खाना–पानी कम खाने गरेकी छु, धेरै वर्षदेखि बेलुकाको खाना खाएकी छैन, तर समस्या उस्तै छ। सुनेको वा देखेको भन्दा भोगाइ धेरै गुणा गाह्रो हुँदो रहेछ।

हरेक रोगको संक्रमण मलाई छिट्टै लाग्छ। एउटा समस्या मुस्किलले निको हुन्छ, फेरि केही दिनमै अर्को समस्या सुरु हुन्छ। म सधैँ बिरामी नै हुन्छु। प्रकृतिमा हुने सामान्य परिवर्तनले पनि मेरो शरीरमा ठूलो असर गर्छ। कृत्रिम समाधान वा बचाउका उपायले खासै फाइदा हुँदैन। मेरो समस्या अचम्मको र फरक किसिमको छ। म बाँचिरहनुले कसैलाई फाइदा छैन जस्तो लाग्छ। मलाई बाँच्न कष्ट छ, परिवारका लागि हेरचाह गर्न झनै कठिन हुँदै गएको छ। आमा बुढी र बिरामी हुनुहुन्छ। आमालाई सहयोग गर्नुपर्ने उमेरमा उल्टै म उहाँलाई दिनदिनै बढी दुःख दिइरहेकी छु। उमेरसँगै मेरो शारीरिक अवस्था झनै कमजोर हुँदै गएको छ। भविष्यमा म कस्तो अवस्थामा पुग्छु भन्ने थाहा छैन।

मेरा लागि मंसिर, पौष र माघ जाडो महिनाहरू शत्रु सरह छन्। चिसो मौसममा मेरो पीडा अत्यधिक बढ्छ। शरीरका सबै अंग दुख्छन्। मुङ्गाले लुगा पिटेझैँ शरीरभरि पीडा हुन्छ। घाँटी सधैँ दुखिरहन्छ, टाउको यता–उता घुमाउन गाह्रो हुन्छ। ढाड दुख्छ, हातखुट्टा चलाउन, बस्न, सुत्न र उठ्न अत्यन्तै कष्ट हुन्छ। न्यानो रहन सकिने सबै उपाय अपनाउँदा पनि खासै राहत हुँदैन। पीडा असह्य हुन्छ।

गर्मीमा शरीरको दुखाइ अलि कम भए पनि धेरै गर्मी हुँदा सास फेर्न गाह्रो हुन्छ। शरीर पोल्ने, बोल्न गाह्रो हुने, सास अड्किएजस्तो महसुस हुन्छ। आँखाले एक ठाउँमा फोकस गर्न सक्दिनँ। सधैँ टाउको दुख्छ, फरक किसिमको पीडा हुन्छ। पढ्न गाह्रो हुन्छ। राम्ररी सुन्न सक्दिनँ, कानमा आवाज फरक तरिकाले जाने जस्तो लाग्छ। रिङ्गटा, चक्कर र वाकवाक लागिरहन्छ। पंखाको हावाले पनि शरीर सुनिने, टाउको दुख्ने र पखाला लाग्ने समस्या हुन्छ।

असोज, कार्तिक र फाल्गुन—वर्षका यी तीन महिना मात्र मेरो शरीरका लागि अलि अनुकूल हुन्छन्। मौसम न धेरै चिसो न धेरै तातो हुन्छ। चाडपर्व र आफन्तसँगको भेटघाटले पनि मन हल्का हुन्छ, त्यसैले शरीरमा ध्यान कम जान्छ र समस्या केही कम भएको अनुभव हुन्छ।

मेरो शरीरका कुनै पनि अंग पूर्ण रूपमा नियन्त्रणमा छैनन्। बाहिरबाट हेर्दा म सामान्य देखिन्छु, तर भित्र कुनै पनि अंग समस्यामुक्त छैन। देखिने घाउ छैन, लगाउने मलम छैन, पीडा व्यक्त गर्ने शब्द छैन। दुखाइ, भोक र प्यास आफैँले भोगेपछि मात्र बुझिने रहेछ। म कपडा लगाउन–फुकाल्न, नुहाउन, महिनावारीको समयमा झनै धेरै समस्या भोग्छु। यस्तै जीवन बाँचिरहेकी छु। म सास भएको लासजस्तै जीवन जिउँदै छु।

अब म बाँचुन्जेल सबैको हित हुने काम गर्ने प्रयास गर्नेछु। मलाई आत्मसन्तुष्टि र मनको शान्ति भए पुग्छ। गाँस, बाँस र कपास मात्रै भए पर्याप्त छ। आजसम्म परिवारले नै दुःख–सुख गरेर मलाई यहाँसम्म पुर्‍याउनुभएको छ। धेरैले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुभएको छ। मलाई कसैप्रति गुनासो छैन। मलाई प्रकृतिले नै चरम शारीरिक यातना दिएको छ।

मौसमअनुसार शरीर अनुकूल नहुनु नै मेरो ठूलो पीडाको कारण हो। ऋतु परिवर्तनसँगै शरीर अनुकूल हुन नसक्दा अनेक समस्या हुन्छन्। सबैको सहयोगकै कारण आजसम्म म जीवित छु। मैले अहिलेसम्म समाजका लागि केही योगदान गर्न सकेकी छैन। अब सकेसम्म सबैका लागि उदाहरणीय र सकारात्मक काम छोडेर जान चाहन्छु। सबैको साथ पाए असम्भव पनि सम्भव हुन सक्छ भन्ने आशा छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*