समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य आज देखि सुरु

हेटौंडा टुडे
२०८२ पुष १३, आईतवार १४:०० गते

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने कार्य आजदेखि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार दलहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित बन्दसूची बुझाइसक्नुपर्नेछ।

आयोगले आइतबार र सोमबार दुई दिनको समय तोकेको छ। बन्दसूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ। अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउने व्यवस्था गरिएको भए पनि अन्तिम समय सोमबार राति १२ बजेसम्म कायम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार पुस १३ र १४ गतेसम्म पेस भएका समानुपातिकतर्फका बन्दसूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई आवश्यक मिलान गर्न लगाइनेछ। मिलाइएको बन्दसूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः जाँच गरिनेछ। माघ ४ गते प्रारम्भिक बन्दसूची सार्वजनिक गरिने र माघ २० गते अन्तिम सूची प्रकाशन गरिने कार्यतालिका रहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र सम्बन्धित नियमावली तथा निर्देशिकाअनुसार विधि, प्रक्रिया, प्रमाण र कागजात पूरा गरी रीतपूर्वक बन्दसूची पेस गर्न आयोगले दलहरूलाई आग्रह गरेको छ। साथै, संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ को उपदफा (५) अनुसार भूगोल र प्रादेशिक सन्तुलनलाई ध्यान दिई दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम लगायत समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी समावेशी सिद्धान्तअनुसार बन्दसूची तयार गर्नुपर्ने व्यवस्था छ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन सय वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नसहित दर्ता गराएका छन्। तीमध्ये समानुपातिक प्रणालीमा भाग लिन दर्ता गराएका दलहरूले मात्र आज र भोलि बन्दसूची पेस गर्न पाउनेछन्।

बन्दसूची पेस गर्ने कार्यक्रम सुरु भएसँगै नेपाल मजदुर किसान पार्टीको टोली बिहानै निर्वाचन आयोग पुगेको छ भने अन्य दलहरू पनि बन्दसूचीलाई अन्तिम रूप दिने तयारीमा जुटेका छन्।

आयोगले बन्दसूची पेस गरेपछि वा पेस गर्नुअघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारणको जानकारीका लागि बन्दसूची सार्वजनिक गर्न सक्ने जानकारीसमेत दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*