हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार गरिएका जोखिम पूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । प्रशासन कार्यालयले हेटौँडा उपमहानगरपालिका अन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घर टहराहरूमा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
सडक डिभिजन हेटौँडाद्वारा गत मंसिर ५ मा प्रकाशित सूचनाअनुसार उक्त सडकखण्डको विस्तार कार्यका क्रममा मिति मंसिर २० गतेदेखि सडक सीमाभित्र पर्ने घरटहराहरू भत्काइसकिएको र सर्वोच्च अदालतको अघिल्लो आदेशअनुसार सडक विस्तार कार्य हालका लागि स्थगित अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तर, सो क्षेत्रमा अतिक्रमण गरी बनाइएका केही संरचनामा डोजर प्रयोग गरी भत्काइएका जोखिमयुक्त घर–टहराभित्र व्यक्ति तथा व्यवसाय सञ्चालन भइरहेकाले जनधनको क्षति हुन सक्ने जोखिम देखिएको प्रशासनको ठहर छ ।
त्यसकारण, जोखिमपूर्ण संरचनाभित्र कुनै पनि प्रकारको व्यापार–व्यवसाय सञ्चालन नगर्न, नागरिक र संरचना व्यवस्थापनमा खटिएका कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन तथा जोखिमको अवस्थामा व्यवसाय सञ्चालनबाट उत्पन्न हुन सक्ने कुनै पनि दुर्घटनाको जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयं हुने जारी सूचनामा भनिएको छ ।





















