हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको कर मिनाहा गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णयअनुसार जेनजी आन्दोलनमा जलेका तथा क्षति भएका सवारी साधनहरुलाई कर छुट दिने र ढिलाइ भएको जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो ।
जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडका कारण पूर्ण रूपमा क्षति भएका सवारी साधनहरुको लगत कट्टा (दर्ता खारेज) गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइने भएको छ । मन्त्रिपरिषद्को गत पुस १६ गतेको बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
यस्तो सुविधा सरकारी, सार्वजनिक संस्थान, समिति, पर्यटकीय तथा निजी सवारी साधनहरूले पाउनेछन् भने यसका लागि सम्बन्धित धनीले प्रहरी मुचुल्कालगायत पूर्ण क्षति पुष्टि हुने आवश्यक प्रमाण कागजातहरू पेस गर्नुपर्नेछ । सार्वजनिक (भाडाका) सवारी साधनको हकमा भने सवारी साधन कर र नवीकरण दस्तुरका अतिरिक्त जाँचपास नवीकरण दस्तुर र बाटो इजाजतपत्र (रुट पर्मिट) नवीकरण दस्तुरमा समेत छुट दिने निर्णय गरिएको छ ।
यो निर्णयले कर वा दस्तुर तिर्ने अन्तिम म्याद परेका सवारी साधनहरुको हकमा सरकारले विशेष राहतको व्यवस्था गरेको छ ।
राजपत्रमा उल्लेख भएअनुसार सेवा अवरुद्ध भएको कारण समयमा दस्तुर बुझाउन नपाएका सवारी धनीहरूले आगामी २०८२ साल माघ मसान्तभित्र दस्तुर बुझाउन आएमा प्रचलित कानुनबमोजिम लाग्ने जरिवाना र थप जरिवाना पूर्ण रूपमा छुट दिइनेछ । सो सुविधा बाटो इजाजत पत्र र जाँचपासको नवीकरण दस्तुरमा लाग्ने जरिवानाको हकमा लागु हुनेछ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा धेरै नै सवारी साधनहरु जलेका थिए ।

















