इन्धन व्यवस्थापनमा आयल निगम, निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपत ह्वातै बढ्न सक्ने

हेटौंडा टुडे
२०८२ माघ ७, बुधबार १५:५२ गते

हेटौंडा । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान गरीएको छ ।

नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाइ लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोलाई निर्देशन दिन लागेको बताए। उनका अनुसार चुनाव आसपासमा केही दिन नाका बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदै छ।

कार्यकारी निर्देशक भट्टले भने‚‘हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदै छौँ। चुनाव अवधिका लागि बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरूलाई स्टक राख्न भन्ने छौँ।’

कार्यकारी निर्देशक भट्टका अनुसार अहिले करिब २०–२५ लाख लिटर पेट्रोल औसतमा खपत हुने गरेको छ। डिजेल ३८–४० लाख लिटर खपत हुने गरेको छ। चुनावको १० दिनअघि मात्रै औसतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ। त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ।

चुनावका बेला सीमा बन्द हुने भएकाले इन्धन दुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए।

उनले २–४ दिन बोर्डर बन्दै भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए। कुन–कुन बोर्डरबाट कति इन्धन ल्याएर कति स्टक राख्नेबारे यसै साता आयल निगम निर्णयमा पुग्नेछ।

नेपाल आयल निगमले पाइपलाइनबाट इन्धन ल्याउन पाइलाइन विस्तारको कामलाई तीव्र पारेको छ। अहिले मोतिहारी अमलेखगञ्ज पाइपलाइन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ।

अमलेशगञ्ज–चितवनसम्म र सिलगुढी–झापासम्म को पाइपलाइन योजना अघि बढ्दैछ । यसले प्रतिलिटर साढे ३ रुपैयाँ अझै इन्धन सस्तो पर्न जानेछ ।

पाइपलाइन तथा भण्डारण गृह अबको तीन वर्षमै सक्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनबाट नेपालमा ल्याएर भण्डारण गरी वितरण गर्ने तयारी समेत निगमको रहेको छ । यसले ट्याङ्करहरु भारत जान पर्ने बाध्यताको अन्त्य गर्न लागिएको निगमको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*